Jan 6, 2016

चालिस लाख ठगेर विदेश भाग्न लागेका म्यानपावर एजेन्ट एयरपोर्टमै समातिए

कठमाडौं : विदेशमा आकर्षक जागिर लगाइदिने भन्दै ६ जना युवाबाट ३९ लाख रुपैयाँ ठगेर विदेश फरार हुन लागेका एक म्यानपावर व्यवसायीलाई प्रहरीले मंगलबार एयरपोर्टबाटै नियन्त्रणमा लिएको छ।
 
ठगीमा पक्राउ पर्नेमा पाटनको ग्वार्कोस्थित नेल्को इन्टरनेशनल म्यानपावर कम्पनीका प्रबन्धक विजयराज खड्का छन्।

विदेश भागी जान लागेका अभियुक्त खड्कालाई महानगरीय विमान स्थल सुरक्षा कार्यालयको सहयोगमा पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ।
 
खड्‌काको स्थायी घर झापा शनिअर्जुन नगरपालीका–५ हो। ललितपुरमा व्यवसाय गर्दै आएका खड्काले काठमाडौं चन्द्रागिरिका सागर नेपाली, नरेन्द्र श्रेष्ठ, प्रकाश अमगाई, कैलाशकुमार पाख्रिन, कुमार श्रेष्ठसहित ६ जनाबाट प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँका दरले रकम ठगेको उजुरी प्रहरीकहाँ परेको छ।
 
खड्काले ती युवाहरुलाई सिंगापुरमा तालिममा पठाउने र तालिम सकिएपछि रोजगारीमा लगाई दिने भनी उक्त रमक गैरकानुनि तवरले असुलेको प्रहरीले जनाएको छ। 

No comments: